Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

गण्डकी प्रदेश सरकार

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

न्यून व्यान्डविथ Invert Color A- A A+

खानेपानीको भौतिक १६ र वित्तीय प्रगति ९ प्रतिशत

27 दिन अगाडी

2082-12-26


WhatsApp_Image_2026_03_29_at_10.56.56_AM.jpeg तस्बिर :

खानेपानीको भौतिक १६ र वित्तीय प्रगति ९ प्रतिशत

प्रकाश डोटेल

स्याङ्जा- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले भौतिक १६ प्रतिशत र वित्तीय ९ प्रतिशत प्रगति हासिल गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा खानेपानी कार्यालयले चालु र पुँजीगततर्फ समग्रमा भौतिकतर्फ १६ प्रतिशत र वित्तीयतर्फ ९ प्रतिशत प्रगति हासिल गरेको हो ।

कार्यालयले पहिलो चौमासिकमा चालुतर्फ २० र पुँजीगत शीर्षकमा २० प्रतिशतका दरले प्रगति हासिल गर्ने लक्ष्य लिएको थियो । चालुतर्फको भौतिक प्रगति झण्डै २० र वित्तीय १६ प्रतिशत प्रगति भएकोमा पुँजीगततर्फ भने भौतिकमा करिब १५ र वित्तीयतर्फ ८.६० प्रतिशत प्रगति हासिल गरेको हो । चालु र पुँजीगत खर्चको समग्रमा भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा चालु खर्च शीर्षकमा विनियोजित तीन करोड ४२ लाख ५० हजार रुपैयाँको १६ प्रतिशत अर्थात् ५४ लाख ८० हजार र पुँजीगत शीर्षकमा विनियोजित ३७ करोड ७७ लाखको ८.६० प्रतिशतले हुने तीन करोड २४ लाख खर्च भएको कार्यालयका इन्जिनियर कमल बरालले बताए ।

विनियोजित चालु र पुँजीगत शीर्षकको ४१ करोड १९ लाख बजेटको ९.२३ प्रतिशतले हुने तीन करोड ८० लाख रुपैयाँ खर्च हुँदा समग्रमा १६ प्रतिशत भौतिक प्रगति हासिल भएको इन्जिनियर बरालले जनाए । यहि अवधिमा पाइप फिटिङ र टूल्स खरिद कार्यको चार वटा ठेक्का लगाएको समेत उनले जानकारी दिए ।

पुँजीगत शीर्षकको संघ विशेष अनुदान आयोजनातर्फ एक करोड ५५ लाख, मर्मत सम्भार तथा प्रणाली सुदृढीकरण आयोजनामा ६ करोड २९ लाख, क्रमागत आयोजनालाई १५ करोड २५ लाख, बहुवर्षीय स्रोत सुनिश्चितताका लागि १२ करोड ९३ लाख विनियोजन भएको छ । संघको सशर्त अनुदानतर्फ केन्द्रीय खानेपानी आयोजनाका लागि ५० लाख, जलवायु अनुकूलित वृहत खानेपानी आयोजनामा ५० लाख र खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रमलाई ७५ लाख गरी ३७ करोड ७७ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकार बनेसँगै स्याङ्जास्थित डिभिजन कार्यालयले स्याङ्जा र कास्की दुवै जिल्लाका आयोजना सञ्चालन गर्दै आएको छ । दुवै जिल्लामा चार ठूलासमेत गरी क्रमागत योजनातर्फ २८१ सञ्चालनमा छन् भने चालु वर्षदेखि थपिएका नयाँ १२१ गरी कूल ४०२ वटा आयोजना कार्यान्वयनमा रहेको कार्यालयले जनाएको छ । क्रमागत योजनामध्ये अधिकांश योजना यसै वर्ष निर्माण सम्पन्न हुने छन् ।

कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०८१/०८२ मा ठूला आयोजनामध्ये कास्कीको मादी गाउँपालिका-४ मा सञ्चालित थुमाकोडाँडा खानेपानी आयोजना ७५ प्रतिशत, मादी गाउँपालिकाकै वडा-८ र ९ को बर्दीमजुरे खानेपानी आयोजना ८० प्रतिशत, पोखरा महानगरपालिका-२४ मा सञ्चालित लौुरुकखोला लिफ्टेड खानेपानी आयोजना ९५ प्रतिशत र स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा-४ स्थित बिर्घा सिमलवगर खानेपानी आयोजना झण्डै ९० प्रतिशत काम सकिएको छ ।

गएकै वर्ष स्याङ्जाको चापाकोट नगरपालिकास्थित छरछरे खानेपानी आयोजना, वालिङ नगरपालिकाको ठूलोपँधेर मुल संरक्षण आयोजना, पाँग्रेफ्याँत रानाथर नेपालीडाँडा लिफ्टेड खानेपानी आयोजना, भल्याङदी लिफ्टेड खानेपानी आयोजना र कालीगण्डकी गाउँपालिकाको खोर्दी खानेपानी आयोजना गरी पाँच आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी कास्कीस्थित पोखरा महानगरपालिका-२८ को छहरे देउमाडी लिफ्टेड खानेपानी आयोजना र रुपा गाउँपालिका वडा-६ को आपुखोला भार्ले चिसापानी लिफ्टेड खानेपानी आयोजना निर्माण सकिएर पूर्णरुपमा सञ्चालनमा आएको इन्जिनियर आशिष कार्कीले बताए ।

पछिल्लो अपडेट गरिएको : 2082-12-24 14:07:09

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्याङ्जा

Powered By: ProActive Developers